चितवन, ५ भाद्र २०८३ — चितवन क्षेत्र नं. ३(क) बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा प्रदेशसभा संसदीय दलका उपनेता गिरबहादुर तामाङ (ज्ञानुजंग लामा) बागमती प्रदेशको स्वास्थ्य तथा सामाजिक विकासमन्त्री नियुक्त हुनुभएको छ ।
मुख्यमन्त्री किरण थापामगरले बिहीबार तामाङलाई मन्त्री नियुक्त गर्नुभएको हो । मन्त्री नियुक्त भएपछि तामाङले बिहीबार नै प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
मुख्यमन्त्री थापामगर नेतृत्वको विस्तारित मन्त्रिपरिषदमा तामाङसहित छ जना नयाँ मन्त्रीले बिहीबार शपथ लिएका छन्। सरल सहयात्री पौडेललाई आर्थिक मामिला तथा योजना, भरत केसीलाई भौतिक पूर्वाधार विकास, राजेन्द्र प्रजापतिलाई उद्योग, पर्यटन, श्रम तथा यातायात र राजु विष्टलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै, ज्ञानबहादुर तामाङले विनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका छन्।

बागमती प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाको समर्थन जुटाएर बहुमतको आधार प्रस्तुत गरेपछि प्रदेश प्रमुखले थापामगरलाई मुख्यमन्त्री नियुक्त गरेका थिए। पछिल्लो मन्त्रिपरिषद् विस्तारसँगै थापामगर नेतृत्वको सरकार थप विस्तार भएको छ।



