चितवन, ७ भदाै २०८३ — चितवनको भरतपुर महानगरपालिकास्थित एक रिसोर्टमा १५ वर्षीया बालिकामाथि बलात्कार भएको जाहेरी परेको छ। घटनामा संलग्न रहेको आरोपमा पीडित परिवारले भरतपुर महानगरपालिका–७ का २८ वर्षीय सन्देश भट्टविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका छन्।
जाहेरीअनुसार भट्टले बालिकालाई भरतपुर महानगरपालिका–४ स्थित मिसन सफल प्रालि नामक रिसोर्टमा लगेर बलात्कार गरेको आरोप छ। घटना साउन ३१ गते भएको बताइएको छ।
पीडित परिवारका अनुसार भट्टले योजनाबद्ध रूपमा रिसोर्टमा कोठा बुक गरी बालिकालाई फकाएर त्यहाँ लगेका थिए। रिसोर्टको कोठामा पुगेपछि चुकुल लगाएर बलात्कार गरेको र बालिकाले प्रतिकार गर्दै चुकुल खोलेर भाग्न सफल भएको जाहेरीमा उल्लेख गरिएको छ।

घटनापछि आरोपी भट्ट फरार रहेको र प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ। पीडितको जाहेरी दर्ता गरी घटनाबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी चन्द्र भुषण यादवले जानकारी दिए।



