चितवन खबर पोष्ट

दिवंगत हास्य कलाकार भुपराज पाठकको स्मृतिमा निःशुल्क स्वास्थ्य शिविर हुँदै

चितवन, १० भदाै २०८३ — दिवंगत हास्य कलाकार, शिक्षक तथा पत्रकार भुपराज पाठकको स्मृतिमा गठित भुपराज पाठक स्मृति प्रतिष्ठानको आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ।

आगामी भदौ १३ गते शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म, माडी–४, खैरहनीस्थित खैरहनी माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुने शिविरमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिने प्रतिष्ठानले जनाएको हो।

शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षण, स्तन क्यान्सर परीक्षण, निःशुल्क औषधि वितरण तथा अल्ट्रासाउन्ड सेवा उपलब्ध हुने आयोजकले जनाएको छ। शिविरका लागि माैलाकालिका अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा लाइन्स क्लब अफ चितवन ब्लु स्काइले प्राविधिक सहयोग गर्नेछन्।

आयोजक भूपराज पाठक स्मृति प्रतिष्ठानले स्थानीय बासिन्दालाई शिविरमा सहभागी भई निःशुल्क स्वास्थ्य सेवा लिन आग्रह गरेको छ। सोही दिन प्रतिष्ठानको बार्षिक साधारणसभा समेत सञ्चालन हुने प्रतिष्ठानका अध्यक्ष विपिन पाठकले बताउनुभयो ।

स्वर्गीय भुपराज पाठक माडी क्षेत्रका परिचित हास्य कलाकार, शिक्षक तथा पत्रकार रहनुभएको थियो । रक्तक्यान्सरका कारण वि.सं. २०८१ फागुन ७ गते उहाँको निधन भएको थियो। उहाँको योगदानलाई जीवन्त राख्न गठित प्रतिष्ठानले विभिन्न सामाजिक एवं सचेतनामूलक कार्यहरू गर्दै आएको छ।

तपाईको प्रतिक्रिया