चितवन, १० भदाै २०८३ — रसुवाको भोटेकोशीमा आएको बाढीमा परी अहिलेसम्म ७ जनाको शव फेला परेको छ। बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीका अनुसार नुवाकोटमा ३ र धादिङमा ४ जनाको शव फेला परेको हो।
बाढीमा मानिसहरू बेपत्ता भएको सूचना आइरहेकाले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको उनले बताए। हताहतीको संख्या निकै बढी हुनसक्ने उहाँको अनुमान छ ।
यसैबीच, रसुवागढी भन्सार कार्यालयमा कार्यरत कर्मचारीमध्ये २५ जना सम्पर्कमा आएका छन्। उता, बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मीसमेत सम्पर्कविहीन भएका छन्। नेपाल प्रहरीका ३२ र सशस्त्र प्रहरीका ९ जना सुरक्षाकर्मी सम्पर्कविहीन रहेको जनाइएको छ।

तिब्बत क्षेत्रबाट सुरु भई आज बिहान त्रिशूली नदीमा आएको विनाशकारी बाढीले तल्लो तटीय क्षेत्रमा जनधनको ठूलो क्षति पुर्याएको हो। प्रारम्भिक विवरणअनुसार नेपाल–चीन सीमा क्षेत्रको तिब्बततर्फ ठूलो हिमपहिरो (आइस एभलाञ्च) गएर नदी थुनिएपछि बनेको ताल फुट्दा अचानक ठूलो बाढी आएको हुनसक्ने अनुमान गरिएको छ।



