खेल र खेलाडी पोष्ट

भोटेकोशी बाढीले रसुवा–नुवाकोटमा ठूलो क्षति, उद्धारका लागि सुरक्षाकर्मी परिचालन

चितवन, १० भदाै २०८३ — तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटका तटीय क्षेत्रमा ठूलो भौतिक क्षति पुर्‍याएको छ।

बाढीपछि प्रधानमन्त्री बालेन शाहले आपत्कालीन बैठक बोलाउँदै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई उद्धार तथा राहतमा परिचालन गर्न निर्देशन दिएका छन्। तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न तथा सम्भावित उद्धारका लागि हेलिकप्टरलाई स्ट्यान्डबाइमा राख्न निर्देशन दिइएको छ।

बाढीले रसुवाका टिमुरे, स्याप्रुबेसी र रसुवागढीस्थित प्रहरी कार्यालयमा क्षति पुर्‍याएको छ भने टिमुरे बजार र केही जलविद्युत् आयोजनासमेत प्रभावित भएका छन्।

नुवाकोटमा बेत्रावती, त्रिशुली, ढुङ्गे र देवीघाट क्षेत्र प्रभावित भएका छन्। प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार तटीय क्षेत्रमा भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण आएको छ।

यो समाचार तयार पार्दासम्म मानवीय क्षतिको आधिकारिक पुष्टि भएको छैन। जोखिमलाई मध्यनजर गर्दै रसुवा, नुवाकोट, धादिङ र चितवनतर्फ जाने सवारीसाधन काठमाडौंमै रोकिएको छ। क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।

तपाईको प्रतिक्रिया