चितवन, ९ भदाै २०८३ — माडी नगरपालिका–९ भालुखोला (अविष्मरणीय टोल) स्थित श्री जनजागृति आधारभूत विद्यालयमा करार शिक्षक छनोटका लागि सञ्चालन गरिएको पुनः परीक्षामा निरज महतो सफल भएका छन्।
सोमबार सम्पन्न पुनः शिक्षक छनोट परीक्षाको नतिजाअनुसार महतो सफल भएका हुन्। विद्यालयको सूचनामा सफल उम्मेदवारलाई नतिजा प्रकाशन भएको मितिले सात दिनभित्र विद्यालयमा सम्पर्क गर्न भनिएको छ।
तर विद्यालयमा लामो समयदेखि पठनपाठन प्रभावित भइरहेको अवस्थालाई ध्यानमा राख्दै महतोले सात दिनको समयसीमा नपर्खी मंगलबार (आज)देखि नै कक्षा सञ्चालन गर्ने तयारी गरेका छन्। माडी नगरपालिका–२ जीवनपुरका स्थायी बासिन्दा महतोले आफू विद्यार्थीको पढाइलाई प्राथमिकता दिँदै विद्यालयतर्फ लागेको बताएका छन्।

यसअघि प्रक्रियागत तथा प्राविधिक त्रुटिका कारण पहिलोपटक सञ्चालन गरिएको शिक्षक छनोट परीक्षा रद्द गरिएको थियो। उत्तरपुस्तिका कोडिङका क्रममा त्रुटि देखिएपछि परीक्षा प्रक्रिया प्रभावित भएको भन्दै माडी नगरपालिकाले पुनः परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो।
पुनः परीक्षा निष्पक्ष रूपमा सञ्चालन गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई संयोजक तोकिएको थियो। समितिमा दुई जना विषय विज्ञ, विद्यालयका प्रधानाध्यापक तथा स्थानीय सरकारका कर्मचारी सहभागी थिए। परीक्षाको अनुगमनका लागि माडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डा. सन्तोष क्षेत्री खटिएका थिए।
परीक्षामा सफल भएपछि महतोले आफूविरुद्ध भएको अन्यायका विषयमा न्याय र सुशासनका लागि आवाज उठाएको थारू कल्याणकारिणी सभा माडीप्रति आभार व्यक्त गरेका छन्। कमजोरी गर्ने निकायले आफ्नो कमजोरी स्वीकार गरिसकेको भन्दै उनले त्यसलाई सम्मान गर्नुपर्ने बताएका छन्।
महतोले अब आफू आफ्नै क्षमतामाथि विश्वास गर्दै व्यक्तिगत तथा पेशागत जीवन अघि बढाउन चाहेको उल्लेख गर्दै शिक्षक छनोट प्रक्रियालाई लिएर थप आन्दोलन वा विरोधका कार्यक्रम नगर्न सम्बन्धित व्यक्ति तथा संस्थाहरूसँग आग्रह गरेका छन्।
“माडीको यो पवित्र, शान्त र सहिष्णु भूमिमा मेरो कारण थप सामाजिक अन्योल नहोस् भन्ने मेरो कामना छ,” महतोले जारी गरेको वक्तव्यमा भनेका छन्। पुनः परीक्षा सम्पन्न भई योग्य उम्मेदवार छनोट भएसँगै जनजागृति आधारभूत विद्यालयमा लामो समयदेखि प्रभावित पठनपाठन नियमित हुने र माडी नगरपालिकामा देखिएको गतिरोध अन्त्य हुने अवस्था बनेको छ।



