चितवन खबर पोष्ट

चितवन निकुञ्जभित्र ७.८ किलोमिटर सडक निर्माणको EIA का लागि सार्वजनिक सुनुवाइ हुँदै

चितवन, ९ भदाै २०८३ — चितवन राष्ट्रिय निकुञजभित्र सडक निर्माण योजना (रिउखोला/बनकट्टा–देउराली–नयाँ पुल–ध्रुवघाट–जगतपुर सडकखण्ड)को वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन तयारीका निम्ति सार्वजनिक सुनुवाइ हुने भएको छ।

हुलाकी राजमार्ग निर्देशनालयले निर्माण गर्न लागेको उक्त सडकखण्ड ७.८१३ किलोमिटर लामो हुने प्रस्ताव गरिएको छ। सडकको फर्मेशन चौडाइ १२ मिटर, गाडी गुड्ने चौडाइ ७ मिटर तथा दुवैतर्फ २.५–२.५ मिटर सोल्जर चौडाइ रहने र सडकको डिजाइन गति प्रतिघण्टा ४० किलोमिटर तोक्ने प्रस्ताव रहेको छ।

EIA अध्ययनका क्रममा आयोजना कार्यान्वयन हुँदा प्राकृतिक, भौतिक, जैविक, सामाजिक, सांस्कृतिक तथा आर्थिक प्रणालीमा पर्न सक्ने सकारात्मक तथा नकारात्मक प्रभावबारे स्थानीयवासीको राय, सुझाव तथा प्रतिक्रिया संकलन गर्न सार्वजनिक सुनुवाइ आयोजना गरिएको हो।

आयोजनाले चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र, भरतपुर महानगरपालिका–२३ र २४ तथा माडी नगरपालिका–१ र २ क्षेत्रमा प्रभाव पार्ने जनाइएको छ। सार्वजनिक सुनुवाइ २०८३ भदौ १४ गते बिहान ९ बजे केरुङ्गा मध्यवर्ती उपभोक्ता समितिको कार्यालय, जगतपुर, चितवनमा हुने हुलाकी राजमार्ग निर्देशनालयले जनाएको छ।

निर्देशनालयले सम्बन्धित क्षेत्रका स्थानीयवासी, सरोकारवाला तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई आयोजनासम्बन्धी आफ्ना राय तथा सुझाव उपलब्ध गराउन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया