चितवन, १० भदाै २०८३ — माडी माध्यमिक विद्यालयको प्रधानाध्यापक पदमा शिक्षिका मुना महतो नियुक्त हुनुभएको छ। नगरपालिकाले स्थायी प्रधानाध्यापक नपठाउँदासम्मका लागि महतोलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिइएको हो।
माडी–३, बघौंडा निवासी महतो सोही विद्यालयमा माध्यमिक तह तृतीय श्रेणीअन्तर्गत सामाजिक शिक्षा विषयको शिक्षकका रूपमा कार्यरत हुनुहुन्छ। उहाँ २०७७ साल असोज १ गतेदेखि माडी माध्यमिक विद्यालयमा शिक्षणरत हुनुहुन्छ।नवनियुक्त प्रधानाध्यापक महतोले बुधबार पदभार ग्रहण गर्नुभएको हो।
यसअघि मंगलबार विद्यालयका निवर्तमान प्रधानाध्यापक भुपेन्द्र पौडेलले आफ्नो पदबाट राजीनामा दिनुभएको थियो। पौडेलको राजीनामापछि रिक्त रहेको प्रधानाध्यापक पदमा विद्यालयको शैक्षिक तथा प्रशासनिक कार्यलाई निरन्तरता दिन महतोलाई जिम्मेवारी दिइएको हो।




