चितवन खबर पोष्ट

चितवनमा फेला परेका २२९ पहिचानविहीन शव डिएनए नमुना संकलनपछि देवघाटमा व्यवस्थापन गरिँदै

चितवन, १३ भाद्र २०८३ — रसुवाको बाढीका कारण चितवनसम्म बगेर आएका तथा नारायणी नदीमा फेला परेका पहिचान नभएका शवहरू डि.एन.ए. नमुना संकलनपछि जमिनमुनि व्यवस्थापन गरिने भएको छ।

जिल्ला सुरक्षा समितिको बैठकले ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन पहिलो संशोधन निर्देशिका-२०८३’ बमोजिम शवहरू भरतपुर-१, देवघाटस्थित खुला स्थानमा व्यवस्थापन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो।

भदौ १० गते रसुवामा आएको बाढीपछि चितवनमा हाल (यो समाचार तयार पार्दा)सम्म २३३ शव फेला परेका छन्। तीमध्ये चारवटाको सनाखत भएको छ भने २२९ शव अस्पताल तथा होल्डिङ सेन्टरमा राखिएका छन्।

चितवन उद्योग संघसँग जोडिएको औद्योगिक प्रतिष्ठानमा रहेका ८० शवको डिएनए नमुना संकलन भइसकेको छ। पहिलो चरणमा ती शव देवघाटमा व्यवस्थापन गरिनेछ।

७ जना फरेन्सिक चिकित्सक, ७ जना दन्त चिकित्सकसहित ४० जनाको टोली डिएनए नमुना संकलनमा खटिएको छ। भरतपुर अस्पतालका मेसु डा. विश्वबन्धु बगालेले अस्थायी शव केन्द्रमा रहेका सबै शवको नमुना संकलन भइसकेको बताए।

तपाईको प्रतिक्रिया