चितवन खबर पोष्ट

तीज कार्यक्रम रद्द गर्दै माडी–काठमाडौं सम्पर्क समाजले गर्‍यो रक्तदान, ३० पिन्ट रगत संकलन

चितवन, १३ भाद्र २०८३ — देशमा उत्पन्न विपद्को अवस्थालाई मध्यनजर गर्दै माडी चितवन–काठमाडौं सम्पर्क समाजले पूर्वनिर्धारित तीज कार्यक्रम रद्द गरी राहत सहयोग तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

शनिबार नयाँ बानेश्वरस्थित संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष शंकर पाण्डे मुक्तिले स्वयं रक्तदान गरी कार्यक्रमको उद्घाटन गर्नुभयो । कार्यक्रमबाट ३० पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ।

विपद् प्रभावित तथा घाइते–बिरामीका लागि राहत सहयोग जुटाउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको क्यूआर कोडसमेत राखिएको थियो। सहभागीहरूले क्यूआरमार्फत सिधै सरकारी खातामा सहयोग रकम जम्मा गरेका थिए।

अध्यक्ष पाण्डेका अनुसार देश विपदमा परेका बेला उत्सवका रूपमा मनाइने तीज कार्यक्रम स्थगित गरी ‘विपदमा एकता, भोटेकोशी बाढी पीडितको सेवा हाम्रो प्रतिबद्धता’ भन्ने भावनाका साथ मानवीय सेवामा जुटिएको हो।

समाजको आयोजना तथा वर्ल्ड ब्लड डोनर्स अर्गनाइजेसन नेपालको सहआयोजनामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्तसञ्चार सेवाले प्राविधिक सहयोग गरेको थियो।

तपाईको प्रतिक्रिया