चितवन, १४ भाद्र २०८३ — माडी र भरतपुर जोड्ने चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक पिच गर्ने विषयमा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ।
हुलाकी राजमार्ग निर्देशनालय, काठमाडौंको आयोजनामा देउराली–नयाँपुल–ध्रुवघाट–जगतपुर सडकखण्ड (७.८१३ किलोमिटर) सम्बन्धी सार्वजनिक सुनुवाइ केरुङ्गा मध्यवर्ती उपभोक्ता समितिको कार्यालय, जगतपुरमा भएको हो।
सुनुवाइमा बोल्दै सहभागीहरूले वर्षौंदेखि सडकको दुरवस्था, लामो यात्रा र निकुञ्ज क्षेत्रका कारण विकास निर्माणमा परेको अवरोध अन्त्य गर्नुपर्ने मागसहित सडक निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह गरेका छन्।

भरतपुर–२३ का वडाध्यक्ष दीपक दवाडीले सहिजकरण गर्नुभएको सो सुनुवाइमा बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकाल, माडी नगरप्रमुख ताराकुमारी काजी महतो, उपप्रमुख खेमप्रसाद महतो र माडीका युवा अगुवाहरू सहित सयाैंको संख्यामा स्थानीयबासी सहभागी रहेका थिए ।
हुलाकी राजमार्ग निर्देशनालयले निर्माण गर्न लागेको उक्त सडकखण्ड ७.८१३ किलोमिटर लामो हुने प्रस्ताव गरिएको छ। सडकको फर्मेशन चौडाइ १२ मिटर, गाडी गुड्ने चौडाइ ७ मिटर तथा दुवैतर्फ २.५–२.५ मिटर सोल्जर चौडाइ रहने र सडकको डिजाइन गति प्रतिघण्टा ४० किलोमिटर तोक्ने प्रस्ताव रहेको छ।



