चितवन खबर पोष्ट

चितवन राष्ट्रिय निकुञ्जमा ३३ केभी लाइनमा फल्ट, बिहानैदेखि माडीमा विद्युत् अवरुद्ध

चितवन, १४ भाद्र २०८३ — चितवनको चनौली–जगतपुर–माडी ३३ केभी सबप्रशारण लाइनअन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज खण्डमा फल्ट आएपछि आइतबार बिहानैदेखि माडी क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ।

माडी क्षेत्रमा वितरण हुँदै आएको विद्युत् एकाबिहानैदेखि अवरुद्ध भए पनि सोही समयमा भरतपुरबाट चनौली वितरण केन्द्रतर्फ विद्युत् प्रवाह गर्ने प्रणालीमा समेत समस्या देखिएका कारण माडीको विद्युत् अवरोधको वास्तविक कारण पहिचान गर्न केही समय लागेको थियो।

आइतबार दिउँसो भरतपुर–चनौलीतर्फको विद्युत् प्रणाली सुचारु भए पनि माडी क्षेत्रमा विद्युत् आपूर्ति नभएपछि चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने प्रसारण लाइनमै समस्या रहेको पहिचान भएको नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले जनाएको छ।

लाइन मर्मत कार्य अगाडि बढाइएपनि बिजुली सुचारू हुन केहि समय लाग्ने बताइएको छ । बिजुली अवरुद्ध रहँदा माडीका प्रशासनिक, शैक्षिक, व्यवसायिक, आमसञ्चार, इन्टरनेट तथा अन्य हरेक क्षेत्र प्रभावित हुनुका साथै दैनिक जनजीवनमै अप्ठ्यारो पर्नेगरेको छ ।

तपाईको प्रतिक्रिया