चितवन, १६ भाद्र २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि माडी-५, ढिकुरबारी चितवनस्थित चिसापानी महिला समूहले १५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ।
समूहका सदस्यहरूले सामूहिक रूपमा रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंकमार्फत दाखिला गरेका हुन्। सहयोग संकलन कार्यक्रमको अध्यक्षता चिसापानी महिला समूहकी अध्यक्ष सारा विश्वकर्माले गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल रेडक्रस सोसाइटी बघौडा उपशाखाका सभापति रामबन्धु पोख्रेल लगायतको उपस्थिति रहेको थियो । बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले समूहले उक्त रकम प्रदान गरेको जनाएको छ।




