चितवन, १८ भाद्र २०८३ — माडी–१, बरुवा बजारस्थित सोमेश्वर माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा रविन्द्रसिंह ठकु्री चयन हुनुभएको छ । बिहीबार बसेको व्यवस्थापन समिति सदस्यहरुको बैठकले विकास अभियन्ता एवं व्यवसायिक पशुपालक कृषक समेत रहनुभएका ठकुरीलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।
समितिको सदस्यहरुमा दाताराम पौडेल, टोपकला पोख्रेल, ज्योति सुनार, फुलमाया महतो र सीता परियार रहनुभएको छ । त्यस्तै वडा समितिबाट वडाध्यक्ष अमित कुमार लामा सदस्य रहँदा विद्यालयका प्रधानाध्यापक इन्दिरा तिवारी सदस्य–सचिव रहनुभएको छ ।
नवनिर्वाचित समितिले विद्यालयको हालको अवस्थामा व्यापक सुधार ल्याई विद्यालयलाई विगतकै विरासत अनुसारको उत्कृष्ट शैक्षिक केन्द्र बनाउने यथासम्भव मिहिनेत गर्ने अध्यक्ष ठकुरीले बताउनुभयो । उहाँ यसअघि आर.आर.एन. संस्थाद्वारा माडीमा सञ्चालित एक नदी एक समुदाय परियोजनाको संयोजक समेत रहनुभएको थियो ।




