चितवन, १८ भाद्र २०८३ — जनजागरण दिदीबहिनी कृषि समूह, माडी-६, लक्ष्मीनिवास, चितवनले सामुहिक भजनकीर्तनबाट संकलन गरेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा सहयोग गरेको छ।
समूहले प्रत्येक एकादशीका दिन आफ्ना सदस्यहरूको घरमा सामूहिक रूपमा भजनकीर्तन गर्दै संकलन गरेको कूल १० हजार ५५ रुपैयाँ राहत कोषमा जम्मा गरेको हो। संकलित रकम समूहकी अध्यक्ष राधाकुमारी आचार्य र सदस्य बिन्दु आचार्यले बैंक दाखिला गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा सहयोग गर्नुभयो ।
धार्मिक तथा सांस्कृतिक गतिविधिमार्फत संकलित रकमलाई विपदमा परेका नागरिकको राहत तथा उद्धारका लागि उपयोग गर्ने उद्देश्यले सहयोग गरिएको समूहले जनाएको छ।

एकादशीको नियमित भजनकीर्तनबाट संकलित रकमलाई सामाजिक सेवामा लगाउने समूहको यो पहलले धार्मिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।



