चितवन, २१ भाद्र २०८३ — नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला क्षेत्रमा भोलि भदौ २२ गतेदेखि दैनिक १० घण्टा सवारी साधनको आवागमन आंशिक रूपमा रोकिने भएको छ।
तुइन खोला परियोजनाअन्तर्गत माटो कटानको काम अघि बढाउन निश्चित समयका लागि सडक बन्द गर्न लागिएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जारी गरेको सूचनामा उल्लेख छ।
प्रशासनका अनुसार बिहान ६ बजेदेखि ८ बजेसम्म, ८ः३० बजेदेखि १०ः३० बजेसम्म, ११ बजेदेखि दिउँसो १ बजेसम्म, १ः३० बजेदेखि ३ः३० बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म सडक बन्द रहनेछ।

बन्दको बीचमा बिहान ८ देखि ८ः३० बजेसम्म, १०ः३० देखि ११ बजेसम्म, दिउँसो १ देखि १ः३० बजेसम्म, ३ः३० देखि ४ बजेसम्म तथा साँझ ६ बजेपछि भने सवारी आवागमन खुला रहनेछ।
यसैबीच, मुग्लिन-काठमाडौं सडकखण्डअन्तर्गत कृष्णभीरमा सडक मर्मतको काम जारी रहेकाले नयाँ ट्र्याक खोलेर नियमित आवागमन सहज बनाउन केही समय लाग्ने भएको छ।
ट्र्याक सञ्चालनयोग्य बनाउन भित्ता काट्ने, बाटो चौडा गर्ने, ग्राभेलिङ तथा ग्रेडिङ गर्ने र डिजाइनअनुसार पहिरो व्यवस्थापन गर्ने लगायतका काम बाँकी रहेको नौबिसे-मुग्लिन सडक आयोजनाको पश्चिमखण्डका इञ्जिनियर सचेन्द्र मिश्रले बताउनुभयो। उहाँका अनुसार सर्वसाधारणका सवारी साधन सञ्चालनमा आउन अझै केही समय लाग्नेछ



