चितवन खबर पोष्ट

बाढीमा ज्यान गुमाएका इन्जिनियर विमल काफ्लेको सम्झनामा जनजीवन माविमा रु. २ लाख ५५ हजारको अक्षयकोष स्थापना

चितवन, २२ भाद्र २०८३ — रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका माडीका इन्जिनियर विमल काफ्लेको सम्झनामा अक्षयकोष स्थापना गरिएको छ।

काफ्लेको १३औँ दिनको पुण्यतिथिका अवसरमा उहाँका बुबा महोदत्त काफ्ले तथा परिवारले जनजीवन माध्यमिक विद्यालय, माडीलाई रु. २ लाख ५५ हजार ४२९ बराबरको चेक हस्तान्तरण गर्दै अक्षयकोष स्थापना गर्नुभएको हो।

दिवंगत काफ्लेका बुबा महोदत्त काफ्लेले विद्यालयका प्रधानाध्यापक अमृता केसी र शिक्षक रामप्रसाद भण्डारीलाई चेक हस्तान्तरण गर्नुभएको हो। कक्षा १० सम्म विद्यालयमा प्रथम हुँदै आएका काफ्लेको सम्झनामा स्थापना गरिएको अक्षयकोषबाट विद्यालयमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरिने उहाँका बुबा महोदत्तले बताउनुभयो।

काफ्ले माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाको ३७ मेगावाट क्षमताको आयोजनामा सिभिल इन्जिनियरका रूपमा कार्यरत हुनुहुन्थ्यो। रसुवाको भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका उहाँको शव भदौ १२ गते नवलपुरको गैँडाकोट नगरपालिका-७, गैरीमा फेला परेको थियो। काफ्लेको परिवार हाल भरतपुर महानगरपालिका-७, प्रेमबस्तीमा बस्दै आएको छ।

तपाईको प्रतिक्रिया