चितवन, २३ भाद्र २०८३ — रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका इन्जिनियर विमल काफ्लेको १३औँ दिनको पुण्यतिथिका अवसरमा उहाँको परिवारले मानव सेवा आश्रम, भरतपुर–७ लाई खाद्यान्न सहयोग गरेको छ।
काफ्ले परिवारले आश्रममा आश्रित सडक बालबालिका तथा वृद्धवृद्धाको दैनिकी सहज बनाउन चामल, चिनी, फलफूललगायत खाद्यान्न सामग्री सहयोग गरेको हो। सहयोग हस्तान्तरण गर्दै दिवंगत काफ्लेका बुबा महोदत्त काफ्लेले मानवीय सेवाको भावनासहित समाजमा जन्मिएपछि केही योगदान गर्नुपर्छ भन्ने उद्देश्यले सहयोग गरिएको बताउनुभयो।
परिवारका तर्फबाट महोदत्त काफ्लेले भरतपुर–७ स्थित मानव सेवा आश्रमका अध्यक्ष विनोद ढकाललाई खाद्यान्न सामग्री हस्तान्तरण गर्नुभएको थियो।

सहयोग ग्रहण गर्दै आश्रमका अध्यक्ष ढकालले इन्जिनियर विमल काफ्लेको अकल्पनीय तथा दुःखद निधनप्रति दुःख व्यक्त गर्दै काफ्ले परिवारले देखाएको मानवीय सेवाभावप्रति धन्यवाद व्यक्त गर्नुभयो। आश्रममा हाल करिब ८० जना आश्रित रहेको जनाइएको छ।
इन्जिनियर काफ्ले भरतपुर महानगरपालिका–७, प्रेमबस्ती निवासी हुनुहुन्थ्यो। उहाँ माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाको ३७ मेगावाट क्षमताको आयोजनामा सिभिल इन्जिनियरका रूपमा कार्यरत हुनुहुन्थ्यो।
भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएका काफ्लेको शव भदौ १२ गते नवलपुरको गैँडाकोट नगरपालिका–७, गैरीमा फेला परेको थियो।



