चितवन, २४ भाद्र २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि माडी नगरपालिका–६, रामराज्यपुरस्थित विकास उपभोक्ता समूहले आफ्ना सदस्यहरूको एक महिनाको बचत तथा ब्याजको पुरै रकम, ४५ हजार रुपैयाँ सहयोग गरेको छ।
समूहका ७८ जना सदस्यले सामूहिक रूपमा प्रदान गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा सहयोग गरिएको हो। विपदमा परेका नागरिकलाई राहत पुगोस् भन्ने उद्देश्यले समूहले सदस्यहरूको एक महिनाको बचत तथा त्यसबाट प्राप्त ब्याजसमेत सामाजिक सेवामा समर्पण गरिएको समूहको अध्यक्ष सकुन्तला न्याैपानेले बताउनुभयो ।
आफ्नो नियमित बचतलाई विपद्को समयमा पीडित नागरिकको सहयोगमा लगाउँदै समूहले सामाजिक उत्तरदायित्व निर्वाह गरेको समूहका उपाध्यक्ष कृष्ण कुमारी गुरूङले बताउनुभयो ।

बाढीपीडितका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेका बेला विकास उपभोक्ता समूहको यो पहलले सामूहिक एकता, मानवीय भावना र सामाजिक सेवाको सकारात्मक सन्देश दिएको छ।



