चितवन खबर पोष्ट

माडीमा शनिबारीय भजन श्रृंखलाको पाँचौँ कार्यक्रम भदौ २७ गते हुने

चितवन, २४ भाद्र २०८३ — माडी युवा भजन समितिको पाँचौँ शनिबारीय भजन श्रृंखला आगामी शनिबार, भदौ २७ गते कृष्णनगर खेलमैदानमा हुने भएको छ।

‘संस्कृति पुस्तान्तरण अभियान’अन्तर्गत आयोजना हुँदै आएको भजन श्रृंखलामा रसुवामा भएको विनाशकारी बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूको स्मृतिमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली अर्पण गरिने आयोजकले जनाएको छ।

कार्यक्रममा स्वस्तिवाचन र शङ्खनादसहित भजन–कीर्तन सुरु गरिने तथा विपदबाट प्रभावित परिवारप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिने माडी युवा भजन समितिका सक्रिय सदस्य तथा भजन–कीर्तन अभियन्ता सन्तोष अधिकारीले जानकारी दिनुभयो।

ग्रीनल्यान्ड युवा क्लबको समन्वयमा आयोजना हुने कार्यक्रममा सम्पूर्ण श्रद्धालु, भजनप्रेमी तथा धर्मप्रेमी महानुभावलाई उपस्थित भई भजन–कीर्तनमा सहभागी हुन आयोजकले अनुरोध गरेको छ। (फोटो: कीर्तनपुरमा सम्पन्न चाैथो श्रृङ्खलाको जनसहभागिता)

तपाईको प्रतिक्रिया