चितवन, ३० भाद्र २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि होटल व्यवसायी सङ्घ चितवन, माडी इकाईले ७६ हजार १ सय ७५ रुपैयाँ सहयोग गरेको छ।
माडी क्षेत्रमा सञ्चालनमा रहेका होटल व्यवसायीहरूले आपसमा रकम संकलन गरी उक्त सहयोग जुटाएका हुन्। संकलित रकम भोटेकोसी बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रदान गरिएको माडी इकाई अध्यक्ष गोपाल श्रेष्ठले जनाउनुभयो ।
विपद्को समयमा माडीका होटल व्यवसायीहरूले सामूहिक रूपमा गरेको सहयोगले सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाप्रतिको प्रतिबद्धता देखाएको माडी इकाईका कोषाध्यक्ष घनश्याम लामिछानेले बताउनुभयो । इकाईले सम्पूर्ण सहयोगदाताहरूको नामावली समेत प्रकाशित गरी अभिलेख सुरक्षित गरेको उहाँले जानकारी दिनुभयो ।




