चितवन खबर पोष्ट

भोटेकोसी बाढीपीडितका लागि सोमेश्वर माविका विद्यार्थीको १३ हजार सहयोग

चितवन, ०१ असोज २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि माडी नगरपालिका-१, बरुवा बजारस्थित सोमेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले १३ हजार ३० रुपैयाँ सहयोग गरेका छन्।

विद्यार्थीहरूले आपसमा रकम संकलन गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषको बैंक खातामा जम्मा गरी पठाएका हुन्। विपदमा परेका नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यार्थीहरूले रकम संकलन गरेको विद्यालयका प्रधानाध्यापक इन्दिरा तिवारीले जनाउनुभयो ।

सानो उमेरमै विद्यार्थीहरूले विपद्का बेला सहयोग र सामाजिक उत्तरदायित्वको भावना प्रस्तुत गर्दै गरेको यस पहलले मानवीय सेवाप्रति सकारात्मक सन्देश दिएको छ। साथै, विद्यार्थीहरूको यो सहयोगले अन्य व्यक्ति तथा संघसंस्थालाई समेत विपद् प्रभावितको सहयोगमा जुट्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया