खेल र खेलाडी पोष्ट

माडी नगर वडा लीग फुटबलको तेस्रो दिन माडी-६ र ९ विजयी, ढीला गरेकोमा माडी-४ को अंक काटियो

माडी, चितवन । माडीको बरूवामा जारी माडी नगर वडा लीग फुटबल प्रतियोगिताको तेस्रो दिन बिहीबार माडी-६ र माडी-९ विजयी भएका छन् ।

पहिलो खेलमा माडी-४ लाई २–० ले पराजित गर्दै माडी-६ ले ३ अंक थप गरेको छ । योसंगै माडी-६ को कूल अंक ६ पुगेको छ भने खेलमा डेढ घण्टा ढिलो आएको माडी-४ को अंकबाट १ घटेर २ मा सिमित हुनपुगेको छ । खेलको म्यान अफ द म्याच वडा ६ का विज्ञान श्रेष्ठ घोषित हुनुभयो ।

त्यस्तै दोस्रो खेल माडी-९ र माडी-७ बिच भएकोमा १–० गोल अन्तरले माडी-९ विजयी भएको छ । जीतसंगै माडी ९ ले समेत ३ अंक थप गर्दै कुल स्कोर ६ पुर्याएको छ । सो खेलको म्यान अफ द म्याच वडा ७ का निश्चल बोट घोषित हुनुभयो ।

लीग अन्तरगत शुक्रबारसम्म वडा नं. ६ र ९ दुबै टिम ६ अंकसहित शीर्षस्थानमा रहेका छन् । त्यस्तै वडा नं. ३ र ७ ले ३ अंक तथा वडा नं. ४ ले २ अंक प्राप्त गरेका छन् भने वडा नं. १, २, ५ र ८ शुन्यमा रहेका छन् । माडी फुटबल खेल विकास समितिको आयोजनामा स्टार खेल मैदानमा सो लीग प्रतियोगिता जारी रहेको हो ।

तपाईको प्रतिक्रिया