

चितवन, माडी – माडीको देवेन्द्रपुरस्थित शनि धाममा आउँदो जेठ १३ गते आयोजित ‘दशौं शनि जयन्ति उत्सव २०८२’ को प्रमुख आकर्षणका रूपमा राष्ट्रिय लोकदोहोरी गायिका अस्मिता डल्लाकोटीको विशेष प्रस्तुति रहने भएको छ ।
माडीकै अग्रणी धार्मिक तथा पर्यटनस्थलका रुपमा परिचित सो मन्दिर (धाम)मा चर्चित लोकदोहोरी गायिका डल्लाकोटीसंगै अन्य राष्ट्रिय एवं स्थानीय कलाकारहरुको प्रस्तुति रहने निश्चित भएको उत्सव आयोजक समितिका संयोजक युवा पं. सुदर्शन सुवेदीले जनाउनुभयो ।

उत्सवकै अवसरमा गायिक एलिना चौहान लगायतको स्वरमा रहेको माडीसम्बन्धी नयाँ धार्मिक भजन सार्वजनिक गर्ने तथा नगरस्तरीय भजन प्रतियोगिता, विविध सांस्कृतिक प्रस्तुति, आरती, हवन, पूजापाठ तथा विभिन्न धार्मिक गतिविधिहरू समेत आयोजना गरिने कार्यक्रम रहेको पण्डित सुवेदीले बताउनुभयो ।

धार्मिक जनविश्वास अनुसार शनिको पूजा आराधनाले ग्रह शान्ति, पारिवारिक समृद्धि, रोग निवारण र जीवनमा सकारात्मक ऊर्जा प्राप्त हुने मान्यता रहेको छ । यही विश्वासको प्रतीकका रूपमा मनाइने यस उत्सवमा हजारौँ भक्तजनको उपस्थितिको अपेक्षा गरिएको छ ।