खेल र खेलाडी पोष्ट

माडी गोल्डकप’को २७औं संस्करण यस वर्ष अण्डर-१८ राष्ट्रिय फुटबल प्रतियोगिताका रूपमा सञ्चालन हुने

१९ पाैष, माडी । बसन्तपुर युनाइटेड क्लबको आयोजनामा हरेक बर्ष सञ्चालन हुँदै आएको ‘माडी गोल्डकप’को २७औं संस्करण यस वर्ष अण्डर-१८ (यू-१८) राष्ट्रिय फुटबल प्रतियोगिताका रूपमा सञ्चालन हुने भएको छ ।

माडी गोल्डकप-२०८२ अन्तर्गत देशभरका १८ वर्षमुनिका खेलाडीलाई समर्पित गर्ने निर्णयसहित प्रतियोगिता ‘आउँदो माघ ३ देखि १० गतेसम्म बसन्तपुरस्थित खुला चौरमा आयोजना गर्न लागिएको’ क्लबका अध्यक्ष नबिन बस्यालले बताउनुभयो ।

प्रतियोगितामा माडीसहित देशका विभिन्न स्थानबाट उत्कृष्ट यू-१८ फुटबल टिमहरूको सहभागिता रहनेछ । ‘प्रतियोगिताको प्रथम पुरस्कार नगद १ लाख रुपैयाँ र द्वितीय पुरस्कार नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने’ अध्यक्ष बस्यालले जनाउनुभयो ।

त्यस्तै, प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ द म्याच, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, नव-प्रतिभाशाली खेलाडी तथा स्थानीय सर्वोत्कृष्ट खेलाडीलाई समेत विधागत नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

महिला हिंसाविरुद्ध सचेतना फैलाउने उद्देश्यका साथ “हाम्रो गोल, महिला हिंसा विरुद्धको बोल” भन्ने नारासहित सञ्चालन हुन लागेको प्रतियोगितालाई सफल बनाउन आयोजकले सम्पूर्ण खेलप्रेमी, दर्शक तथा स्थानीयवासीमा सहयोग र उपस्थितिको अपिल गरेको छ ।

तपाईको प्रतिक्रिया