चितवन खबर पोष्ट

शल्यक्रियापछि हिँड्न सक्षम बनेकी माडीकी सजिना १० बर्षको उमेरमा विद्यालय भर्ना (भिडियो सहित)

२३ बैशाख, माडी । अन्ततः ‘सजिना परियार’ स्कुल भर्ना भएकी छिन् । शारीरिक रुपमा पूर्ण अपांग रहेकी, दुईवटै घुँडा उल्टो र खुट्टा बाङ्गो रहेकी उनी करीब ६ पटकको शल्यक्रिया र लगातारको उपचारपछि आफै हिँड्न सक्ने अवस्थामा बुधबार बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयमा भर्ना भइन् ।

उनको उपचारका लागि माडी-१ का वडाध्यक्ष अमित कुमार लामाको पहलमा हाल अष्ट्रीयामा रहनुहुने माया लामा मुलर र उहाँका श्रीमान एल्मर मुलर सहित अष्ट्रीयन नागरिक ओल्फगन बार्टीले निरन्तर सहयोग गर्नुभएको हो । आउँदो असारमा उनको सातौं शल्यक्रिया हुनेछ ।

घरमै अक्षरहरु लेख्न पढ्न सिकेकी र उमेरमा १० बर्ष पुगेकी सजिनालाई विद्यालयले कक्षा १ मा भर्ना गरेको हो । माडी-१, भंगता निवासी सजिनाकी आमा दुर्गा घरायसी काम गर्नुहुन्छ भने बुबा मिलन अटो चालक हुनुहुन्छ ।

यसअघि २०७९ जेष्ठ १० गते उनलाई बरुवास्थित विद्याज्योति अंग्रेजी बोर्डिङले निःशुल्क पढाउने व्यवस्था गरेपनि शारीरिक अपांगताका कारण विद्यालय जान सम्भव भएको थिएन । अब भने मुलर दम्पत्तीद्वारा स्थापित धन्यवाद नेपाल र ओल्फगनको संस्था Let The Children Walk को सहयोगमा सजिनाले शैक्षिक उज्यालो देख्न पाउने भएकी हुन् ।

स्कुल भर्ना हुँदैगर्दा ओल्फगनले सजिनाको शिक्षा पुरा भएपछि उनको शल्यक्रिया हुनेगरेको बनेपा अस्पतालमै उनलाई रोजगारी दिने घोषणा समेत गर्नुभयो । बिपन्न परिवारकी सजिनालाई गरेको उपचार सहयोगका निम्ति उनका बुबाआमाले सहयोगदातालाई धेरै धन्यवाद व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया