चितवन, २८ असार २०८३ — चितवनको माडीमा धान खेतीमा कृषि यान्त्रिकीकरण बढ्दै गएको छ । माडी नगरपालिका-४, खैरहनीस्थित माडी प्राङ्गारिक कृषि फर्म तथा रिसर्च सेन्टर (कृषक पाठशाला)मा मेसिनबाट रोपाईं भएको हो ।
पिएचडी किसानको उपनामले देशैभर चर्चित कृषि बैज्ञानिक कृषि वैज्ञानिक डा. भानु पोखरेलले शनिवार आफ्नो फर्मको खेतमा मेसिनबाट धान रोपाई गर्नुभयो । “खेतीमा यान्त्रिकीकरणले उत्पादन लागत ३० देखि ४० प्रतिशतसम्म घटाउँदै कृषिलाई नाफामूलक व्यवसाय बनाउन सकिन्छ,” उहाँको भनाई छ ।
मेसिनबाट धान रोप्दा परम्परागत विधिको तुलनामा श्रम, समय र बीउको खपत उल्लेखनीय रूपमा घट्ने तथा उत्पादनमा समेत सकारात्मक प्रभाव पर्ने उहाँले बताउनुभयो ।

धान खेतीलाई आधुनिक, कम लागत र बढी उत्पादनमुखी बनाउने उद्देश्यले माडी-५, राधापुर (बेलुवा)स्थित एग्रो नाइन कम्पनीको धानखेतमा समेत मेसिनबाट धान रोपाईं हुँदैछ ।
मेसिनबाट रोपाइँ गर्न प्लास्टिक ट्रेमा बेर्ना उत्पादन गर्नुपर्ने भए पनि एकपटक प्रविधि सिकेपछि काम छिटो, सहज र कम खर्चिलो हुने किसानहरूको अनुभव छ । यस प्रविधिबाट बीउको खपत पनि उल्लेखनीय रूपमा घट्ने कृषि प्राविधिकहरू बताउँछन् ।



