चितवन, २३ श्रावण २०८३ — रीउ नदीको बाढीले कटान गर्दा क्षति पुगेको माडी नगरपालिका वडा नं. १, गर्दीस्थित चन्द्रपुरी तटबन्धन (बाँध) मर्मत तथा सुरक्षाका लागि स्थानीयवासीले श्रमदान गरेका छन्।
माडी नगरपालिकाले सहयोगस्वरूप उपलब्ध गराएको बाँस गाड्ने तथा बोरामा बालुवा भरेर तटबन्धन गर्ने काममा माडी-१ का गर्दी र सेरुवा गाउँटोलका स्थानीयवासी जुटेका हुन्। बाढीका कारण कमजोर बनेको तटबन्धनलाई तत्काल संरक्षण गर्दै थप क्षति हुन नदिन स्थानीयले सामूहिक रूपमा काम गरेका छन्।
यसअघि गत साउन १८ गते लगातारको वर्षासँगै रीउ नदीमा आएको बाढीले माडी–१, गर्दी गाउँको सिरानमा रहेको चन्द्रपुरी तटबन्धनमा कटान भएको थियो। करिब एक दशकअघि निर्माण गरिएको उक्त तटबन्धन लगातारको पानी र बाढीका कारण कमजोर हुँदै गएको थियो।

चन्द्रपुरी तटबन्धनले रीउ नदीको बाढीलाई माडी-१ का गर्दी, सेरुवा र बनकट्टा क्षेत्रमा प्रवेश गर्नबाट रोक्दै आएको छ। तटबन्धनमा क्षति पुगेपछि स्थानीय बस्ती तथा आसपासका क्षेत्रमा बाढीको जोखिम बढेको थियो। तटबन्धनको मर्मत तथा सुरक्षाका लागि स्थानीयवासीको उत्साहजनक सहभागिता र श्रमदान रहेको माडी नगरप्रमुख ताराकुमारी काजी महतोले बताउनुभयो।



