चितवन, ५ मंसिर, २०८३ । एमसीए–नेपालले न्यू बुटवल सबस्टेसनदेखि न्यू दमौली सबस्टेसनसम्म जोड्ने ४०० केभी क्षमताको दोहोरो सर्किटयुक्त विद्युत् प्रसारणलाइन निर्माण सुरु गरेको छ ।
तनहुँ र पाल्पाबाट निर्माण कार्य सुरु गरिएको यस प्रसारणलाइनको उक्त खण्ड ९० किलोमिटर लामो हुनेछ । यसअन्तर्गत २५० वटा प्रसारण टावर निर्माण गरिनेछन् ।
प्रसारणलाइन तनहुँ, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) गरी चार जिल्लामा फैलिनेछ ।
एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण भइरहेको ३१५ किलोमिटर लामो विद्युत् प्रसारण सञ्जालको यो एक महत्वपूर्ण खण्ड हो । आयोजना सम्पन्न भएपछि थप विद्युत् उत्पादनलाई राष्ट्रिय प्रसारण ग्रिडमा जोड्न सहज हुने र नेपालको ऊर्जा सुरक्षा सुदृढ बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ ।










