खाद्य अनुगमन समितिद्वारा माडीको बसन्तपुर बजारमा खाद्य अनुगमन

168
SwadeshPost

माडी नगरपालिका अन्तरगतको खाद्य अनुगमन समितिले मंगलबार माडीको बसन्तपुर बजारमा खाद्य अनुगमन गरेको छ ।

अनुगमनका क्रममा बसन्तपुर बजारका खाद्य सामग्री बिक्रीमा राखिएका किराना पसल, होटल वा खाजाघरहरुमा रहेका खाद्यपदार्थको अनुगमन गरिएको हो । अनुगमनका क्रममा प्रायः पसल तथा होटल वा खाजा घरहरुमा म्याद सकिएका चिसो पेय पदार्थ र खाद्यान्न भेटिएको छ । त्यसैगरी, अनुगमन टोली पुगेको होटलहरूमा म्याद सकिएको मैदाबाट खाने चिज बनाएको, एउटा होटलमा १९ बोरा र अर्को होटलमा ३ बोरा म्याद सकिएको मैदा अझै स्टकमा रहेको, किचनमा कुखुराका चल्ला चरिरहेको तथा किचन फोहोर भएको पाईएको समितिले जनाएको छ । म्याद सकिएका पदार्थहरुमध्ये चिसो पेय पदार्थमा प्वाल पारिएको तथा अन्य केहि सामानहरु जफत गरिएकोमा इलाका प्रहरी कार्यालयमा जम्मा गरी प्रक्रिया पुरा गरेपश्चात डिस्पोजल गरिने जनाइएको छ ।

त्यसैगरी केहि पसलहरुमा ४–५ महिना अघि नै म्याद सकिएको चिसो पेय पदार्थ भेटिएकाले उपभोक्ताहरुनै सचेत हुनुपर्ने जनाउँदै आफूले उपभोग गर्न लागेको पेय पदार्थको उत्पादन मिति र म्याद सकिने मिति हेर्ने बानीको बिकास गर्न उपभोक्ताहरुलाई अनुगमन समितिले अनुरोध गरेको छ । खाद्य अनुगमन समितिमा उद्योग बाणिज्य संघ माडी, नागरिक समाज माडी, पशुपंक्षी विकास कार्यालय, कृषि विकास कार्यालय, आयुर्वेद औषधालय तथा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट छरछरे र ईलाका प्रहरी कार्यालयका प्रतिनिधीसंगै सञ्चारकर्मी सदस्य रहेका छन् भने सो टोलीको संयोजन नगर आयुर्वेद अधिकृत रविशंकर शाहले गरिरहनुभएको छ ।

SwadeshPost