चितवन । स्थानीय तहबाट सञ्चालित नेपालकै पहिलो ‘माडी भेटेरिनरी अस्पताल’ले एक बर्षको अवधीमा ४४ हजार पशुहरुलाई उपचार सेवा प्रदान गरेको छ । अस्पतालले आर्थिक बर्ष २०८०/८१ को एक बर्षे अवधीमा २ हजार ३४८ जना कृषकहरुका ४४ हजार पशुहरुलाई उपचार सेवा प्रदान गरेको हो ।
यसैगरी सो अवधीमा १८ हजार बाख्रामा महामारी पिपिआर रोग बिरुद्धको भ्याक्सिन लगाइएको, १५०० वटा गाइभैंसीलाई लम्पी स्किन डिजिज बिरुद्धको खोप दिइएको साथै सडक, सामुदायिक र घरपालुवा गरी २४७ वटा कुकुरको बन्ध्याकरण गरिएको पनि अस्पतालको सेवा तथ्यांकमा उल्लेख छ ।
अस्पतालमा शल्यक्रिया, ओ.पि.डी, गोबर परीक्षण, हेमाटो एनालाइजर (रगत परीक्षण), दुध परीक्षण, माछा पोखरीको पानी जाँच, पोष्टमार्टम, पशु बन्ध्याकरण, कृत्रिम गर्भाधनका साथै विशिष्टकृत सेवा अन्तरगत भिडियो एक्सरे लगायतको सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ ।
यसबाहेक पशुपालन कृषकहरुलाई नजिकमै सेवा उपलब्ध गराउन हाल वडा नं. १ गर्दी र वडा नं. ९ कृष्णनगरमा एकीकृत कृषि तथा पशु सेवा केन्द्रको स्थापना भई कृषकहरुलाई सेवा प्रवाह भइरहेको माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताउनुभयो ।