माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र कसरा बनकट्टा सडक खण्डमा बाटो छेउ-छाउको झाडी सफाई सुरु भएको छ ।
युवा स्वरोजगार कार्यक्रम अन्तरगत सुचिकृत बेरोजगार व्यक्तिहरुलाई रोजगार दिनेगरी माडी नगरपालिकाले सो झाडी सफाई सुरु गरेको हो । दशैं तिहार पर्वको समयमा निकुञ्ज वारपार गर्दा यात्रुहरुलाई सुरक्षित महसुस हुनेगरी निकुञ्ज प्रशासन र पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिसंगको समन्वयमा मंगलबारदेखि झाडी फाँड्न थालेको माडी नगरप्रमुख ताराकुमारी काजी महतोले बताउनुभयो ।
निकुञ्जभित्र बाटो छेक्ने गरी बाक्लिएको झाडीका कारण सर्वसाधारणले सास्ती खेप्नुपरेको हुन्छ । बाक्लो झाडीका कारण अगाडी बाटो नदेखिने भएकाले जगंली जनाबरसंग हुनसक्ने जम्का-भेटको डर मनमा लिएर यात्रुहरु यात्रा गर्न बाध्य रहनेगरेका छन् । झाडीले विषेशगरी पैदल, साईकल र मोटरसाईकलमा यात्रा गर्ने बढी प्रभावित हुनेगरेको अवस्था छ ।