माडी, चितवन । प्रधानमन्त्री के.पी. ओलीले ‘चितवन राष्ट्रिय निकुञ्जभित्रको हुलाकी बाटो तत्कालै ढलान गर्न’ विभागीय मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ ।
माडी नगरप्रमुख ताराकुमारी काजी महतो र उपप्रमुख खेमप्रसाद महतोसहित काठमाडौं पुगेको चितवनको एक प्रतिनिधि मण्डलसंग विभागिय मन्त्रीहरुसहित भेट सम्वाद गर्दै प्रधानमन्त्री ओलीले निकुञ्जभित्रको बाटो धुलोरहित बनाउन सडक ढलान गर्न निर्देशन दिनुभएको हो ।
त्यसक्रममा प्रधानमन्त्री ओलीले वनमन्त्री ऐनबहादुर शाही ठकुरीलाई ‘निकुञ्जभित्र निर्माण कार्यको स्वीकृति प्रदान गर्न’ र भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाललाई ‘निकुञ्जभित्र नयाँ एलाइङ्गमेन्टबाट बनाइने बाटोको कामलाई तीब्रता दिन तथा हाल चालू अवस्थामा रहेको बाटोमा ढलान गर्न’ निर्देशन दिनुभएको भेटसम्वादमा सहभागी एमाले चितवनका नेता श्रीप्रसाद दवाडीले बताउनुभयो ।
भेटसम्वादमा नगरप्रमुख र उपप्रमुख महतोद्वयसंगै नेकपा एमाले स्थायी कमिटि सदस्य काशीनाथ अधिकारी, केन्द्रीय सदस्य एवं पूर्वसांसद पार्वती रावल, पूर्व प्रदेश मन्त्री विजय सुवेदी, एमाले माडीका नेताहरु शिवहरि सुवेदी, नारायण अधिकारी र जयराम महतो एवं नेपाली काँग्रेस माडीका नेताहरु शिवनारायण गुरौ, शोभाखर चापागाईं, कोमलनाथ भुसाल र लोकनाथ लामिछानेको सहभागिता रहेको थियो ।