पूर्वी माडीको कृष्णनगरमा हात्तीको झुण्ड गाउँ प्रवेश गरी धानबाली विनाश

407
SwadeshPost

पूर्वी माडीको कृष्णनगर क्षेत्रमा गएराती पनि हात्तीको झुण्ड गाउँ प्रवेश गरी धानबाली विनाश गरेको छ । माउ सहितका करीब १५ वटा हात्तीहरुको झुण्ड एकसाथ राती करीब ११:३० बजे बस्ती प्रवेश गर्दा स्थानीयबासीहरु त्रस्त भएका थिए ।

हात्तीको झुण्ड गाउँ छिरेपछि स्थानीयबासहरुसंगै शोमेश्वर प्रहरी चौकी टम्टा र माडी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष शिवहरि सुवेदी, सुचना प्रविधी अधिकृत प्रविण भण्डारी लगायतको टोलीले हात्ती धपाउने विभिन्न प्रयास गरेको थियो । तर जतिसुकै प्रयास गरेपनि हात्तीको झुण्ड जंगल नफर्किएपछि बगहीँ पोष्टबाट नेपाली सेनाको एक टोली बोलाइ हवाई फायर गरीएको थियो । २ पटक हवाई फायर गरेपछि मात्र हात्तीको झुण्ड जंगलतिर फर्किएको नगर सुचना अधिकृत भण्डारीले जनाउनुभयो । हात्ती फर्किएपछि राती २ बजेमात्र स्थानीयबासी ढुक्क हुन सकेका थिए ।

अघिल्लो राती पनि हात्तीको सो झुण्डले पूर्वी माडीमा सन्त्रास फैलाउनुका साथै धानबाली नष्ट गरेको थियो । हात्तीका कारण टम्टा क्षेत्रका करीव १ बिगाहा भन्दा धेरै धानखेती नष्ट भएको हाम्रा पुर्वी माडी सम्वाददाता भुपेन्द्र गीरिले जानकारी दिनुभयो । मुख्यतः धानखेतीको समयमा चितवन राष्ट्रिय निकुञ्जबाट हात्तीहरु माडीको बस्ती प्रवेश गर्ने गरेका छन् । यसले गर्दा निकुञ्ज नजिकका गाउँहरुमा डर त्रास रहेको छ भने खेतीबाली नष्ट हुँदा स्थानीयबासीहरुले ठूलो समस्या भोगिरहेका छन् ।

(फाेटाे : रामप्रसाद भण्डारीकाे फेसबुकबाट)

SwadeshPost