रामधामका लागि जमिनको निर्णय गरिदिन सरकारलाई माडी नगरपालिकाको अनुरोध

478
SwadeshPost

चितवन । माडी नगरपालिकाले अयोध्याधाम निर्माण स्थलका रुपमा सिफारिस गरेको जमीनलाई धामको नाउँमा छुट्याइदिन संघीय सरकारलाई अनुरोध गरेको छ ।

नगर कार्यपालिकाको बैठकले अयोध्या धामका लागि प्रस्तावित माडी ९, कृष्णनगर पार्कस्थित १०० बिगाहा जमीन वा अन्य बैंकल्पिक जमीनलाई मन्त्रीपरिषद्को बैठकबाट धामको नाममा निर्णय गरिदिन अनुरोध गरेको हो ।

प्रधानमन्त्री के.पी. शर्मा ओलीले माडीको अयोध्यापुरीमा राम मन्दिर निर्माणका लागि निरन्तर चासो दिइरहनुभएको र राम सीताको मुर्ती समेत बनिसकेको भएपनि धामकै नाउँमा जमीन छुट्याउने निर्णय गर्न भने बाँकी नै रहेको भन्दै नगर कार्यपालिकाको बैठकले तत्कालै सो निर्णय गर्न सरकारलाई अनुरोध गरेको हो । बैठकले रामधामको डि.पी.आर. निर्माण गरिदिन पनि सरकारलाई अनुरोध गरेको छ ।

त्यसैगरी कार्यपालिका बैठकले माडी-९, बाँदरझुलामा सडक, शिक्षा, कृषि, खानेपानी आदि कामहरुमा आधुनिक कृषि औजारहरुको प्रयोग बर्जित रहेको भन्दै त्यसलाई खुला गर्ने निर्णय गरिदिन समेत सरकारलाई अनुरोध गरेको छ । त्यस्तै, माडीमा कुसुमखोलाबाट बिस्थापित चेपाङ परिवारहरुको आवास निर्माण चितवन राष्ट्रिय निकुञ्जको अवरोधका कारण रोकिएको हुँदा सो अवरोध हटाइदिन मन्त्रीपरिषद्बाट निर्णय गरिदिन पनि बैठकले निर्णय गरेको नगर कार्यपालिका प्रवक्ता शिवहरि सुवेदीले जनाउनुभयो ।

SwadeshPost