माडी, चितवन । माडी–३, बैराठ गाउँस्थित बैराठ (जोगी) धुनीको संरक्षणको उद्देश्यले सञ्चालन हुन लागेको सप्ताहव्यापि ज्ञान महायज्ञ व्यवस्थापनको लागि मधुराम चौधरीको संयोजकत्वमा मूल आयोजक समिति गठन भएको छ । मूल आयोजक समितिको सचिवालयमा संयोजक चौधरीसंगै ओमप्रकाश महतो, टिकाराम भट्टराई, रामनाथ महतो, राजकुमारी महतो, श्रीप्रसाद सुवेदी र वडाध्यक्ष पुरन महतो रहनुभएको छ ।
त्यस्तै, आर्थिक उप-समिति संयोजकमा ओमप्रकाश महतो, प्रचार-प्रसार उप-समिति संयोजकमा बिगुवा शाह कानु, स्वयम्-सेवक परिचालन संयोजकमा कूलप्रसाद लम्साल, मञ्च व्यवस्थापन संयोजकमा प्रेमप्रसाद महतो, भान्सा व्यवस्थापन संयोजकमा सीता महतो, पूजा व्यवस्थापन संयोजकमा कृष्ण प्रसाद महतो, अतिथि सत्कार र फूलमाला व्यवस्थापन संयोजकमा आशा महतो र धान संकलन संयोजकमा मनोज चौधरीलाई जिम्मेवारी दिइएको छ ।
ऋषि बाल्मीकिद्वारा स्थापना गरिएको ५२ धुनीमध्येको १ धुनी मानिने माडीकै ऐतिहासिक एवं पुरातन धुनी र थारु समुदायको आस्थाको केन्द्र रहेपनि पछिल्लो समय ओझेल र भूमि अतिक्रमणमा परेको सो धार्मिक स्थलको संरक्षण र प्रचारप्रसारका उद्देश्यले आउँदो माघ ६ देखि १३ गतेसम्म ज्ञान महायज्ञ सञ्चालन हुन लागेको हो । युवा पण्डित सुदर्शन सुवेदीको मुख्य वाचनमा सप्ताह सञ्चालन हुने मूल आयोजक समितिका संयोजक चौधरीले बताउनुभयो ।