‘यसकारण संस्थागत क्षमता स्वमूल्याङ्कनमा माडी नगरपालिका कमजोर’ : मेयर ढकाल

164
SwadeshPost

१४ ज्येष्ठ, चितवन । माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले अन्य स्थानीय तहसंग समन्वय गर्न नपरेको र पाँच लाखभन्दा साना आयोजनाहरुको अंकभार नजोडिएकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा माडी नगरपालिका कमजोर देखिएको जिकीर गर्नुभएको छ ।

स्वदेशसंग कुराकानी गर्दै नगरप्रमुख ढकालले माडी नगरपालिकासंग अन्य कुनै पालिकाहरुको प्रत्यक्ष सीमा नजोडिएको हुँदा सहकार्य र समन्वयमा शून्य अंक आएको बताउनुभयो । त्यसैगरी नगर र वडाका अधिकांश योजनाहरु ५ लाखभन्दा कम बजेटका रहेकोमा ती योजनाहरु मुल्यांकनमा नपरेकाले सो शीर्षकमा कम अंक आएको तथा नगरपालिकामा स्थायी कर्मचारीहरुको अभावले पनि अंकभार घटाएको नगरप्रमुख ढकालको भनाई थियो ।

यसअघि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तरगतको स्वमूल्याङ्कनमा माडी नगरपालिका जिल्लाको दोस्रो कमजोर नगरपालिकामा परेको थियो । एक हजार ११ सूचकलाई १०० पूर्णांक मानी प्रतिशतका आधारमा निकालिएको स्वमूल्याङ्कन नतिजामा माडीले ५०.७८ प्रतिशत मात्रै अंक प्राप्त गरेको थियो । १० वटा स्वमूल्याङ्कन विषयगत क्षेत्रहरुमध्ये माडीले संगठन तथा प्रशासनमा ३१.२५ प्रतिशत, भौतिक पूर्वाधारमा ३४.६२ प्रतिशत, बार्षिक बजेट तथा योजना व्यवस्थापनमा ५० प्रतिशत, सामाजिक समावेशीकरणमा ५५ प्रतिशत, सेवा प्रवाहमा ५६.२५ प्रतिशत, वित्तीय तथा आर्थिक व्यवस्थापनमा ५६.८२ प्रतिशत, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ६१.११ प्रतिशत, न्यायिक कार्यसम्पादनमा ७१.४३ र शासकीय स्वरुपमा ७६.७५ प्रतिशत प्राप्तांक ल्याएको हो ।

SwadeshPost