चितवन । किसानहरुको खेतमा धानबाली काट्दैगर्दा चितवन राष्ट्रिय निकुञ्जबाट निक्लेर जंगली हात्तीको बथान पुनः माडी र ठोरीको गाउँघर खेतबारीमा छिर्न थालेको छ ।
हात्तीहरु एक्लैदेखि चार पाँचवटाको समूहमा धनखेतमा देखापर्न थालेको पीडित किसानहरुको बताएका छन् । गतसातादेखि हरेक रातजसो माडी र ठोरीका विभिन्न गाउँहरुमा जंगली हात्तीको बथान छिर्ने गरेको हो । धानखेती भित्राउने समयमा समूहमा हात्ती आउँदा स्थानीयबासी त्रसित हुने गरेका छन् ।
विगतका बर्षदेखि नै धान काट्ने र थन्काउने समयदेखि नै हात्तीहरु गाउँहरुमा छिर्ने, घर भत्काउने र मान्छेको ज्यानै लिने गरिआएका छन् । हात्तीहरु खेत र बस्तीमा छिर्नबाट रोक्न सडक बत्ती जोड्ने, विध्युतिय फेन्स सहितको मेजसाली लगाउने र हात्ती आउने समयमा गाउँलेहरुले ट्रयाक्टर चढी हात्ती धपाउने प्रयास हुने गरेको छ ।
यसैबिच, माडी र ठोरी क्षेत्रका बस्तीमा हात्ती छिर्न थालेपछि सावधानी अपनाउन चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले आग्रह गरेको छ । यस क्षेत्रमा जङ्गली हात्ती देखिएकाले रातको समयमा एक्लै हिँडडुल नगर्न र हिँड्नै परेमा उज्यालो बनाएर, समूहमा तथा चनाखो भएर हिँड्न निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले अनुरोध गर्नुभयो ।