चितवन । आफ्नै कार्यालय भवन नरहेका माडी नगरपालिका वडा नं. ४ र ७ को वडा कार्यालय भवन निर्माणका लागि बोलपत्र प्रकाशन भएको छ ।
आफ्नै वडा कार्यालय भवन नहुँदा उक्त दुबै वडा कार्यालयले समायोजित विद्यालय भवनबाट वडा कार्यालय सञ्चालन गरिआएका छन् । दुबै वडा कार्यालय भवन समायोजित विद्यालयकै परिसर (जमीन) मा निर्माण हुनलागेका हुन् ।
माडी ४ वडा कार्यालय निर्माणका लागि कार्तिक ११ गते आइतबार बोलपत्र प्रकाशन भएको हो । हाल भुइँतलासम्म निर्माण हुने वडा कार्यालय भवनको निर्माण बजेट करसहित १ करोड १७ लाख ३१ हजार १७५ रुपैंया रहेको छ ।
त्यस्तै माडी ७ वडा कार्यालयको भवन निर्माणका लागि गत असोज २ गते बोलपत्र प्रकाशन भएको हो । हाल भुइँतलासम्म निर्माण हुने सो भवनको निर्माण बजेट करसहित १ करोड २६ लाख ३२ हजार ३५९ रुपैंया रहेको देखिन्छ ।
चालू आर्थिक बर्ष २०८१/८२ मा माडी ४ वडा कार्यालयले रु. १० लाख र माडी ७ वडा कार्यालयले पनि रु. १० लाख वडा कार्यालय निर्माणका लागि बजेट राखेको छ । त्यसमा नगर तहको समेत बजेट सहभागिता सहित बोलपत्र प्रकाशन भएकोे हो ।
उता, भाडाको घरबाट वडा कार्यालय सञ्चालनमा रहेको माडी १ वडा कार्यालयले समेत वडा कार्यालय भवनका लागि १० लाख रुपैंया बजेट विनियोजन गरेको छ तर भवन निर्माण स्थलको टुङ्गो लाग्न नसक्दा बोलपत्र प्रकाशनमा ढिलाई भइरहेको बुझिन्छ ।