समयमै सडक ग्राभेल हुन नसकेपछि आक्रोशित उपभोक्ताहरुद्वारा माडी १ वडा कार्यालयमा तालाबन्दी

210
SwadeshPost

२० ज्येष्ठ, चितवन । अघिल्लो आर्थिक बर्षमै सम्पन्न हुनुपर्ने सडक ग्राभेलको कार्य चालू आर्थिक बर्षको अन्तिम हुन लाग्दासमेत सुरु हुन नसकेपछि आक्रोशित उपभोक्ताहरुले माडी १ को वडा कार्यालयमा तालाबन्दी गरिदिएका छन् ।

माडी नगरपालिका १ नं वडा कार्यालयले गत आर्थिक बर्ष २०७६/७७ मा सेरुवास्थित ईन्द्रमणी महतोको घरदेखि फागु गुरुङको घरसम्म सडक ग्राभेल तथा स्तरोन्नतिका लागि २२ लाख रुपैंया र गर्दी चौतारादेखि सिकारीपुर रेमाकान्त पाठकको घरसम्म सडक ग्राभेलकै लागि ६ लाख रुपैंया विनियोजन गरेको थियो । गत बर्ष नै सम्पन्न भइसकेको हुनुपर्ने सो दुईवटै कार्यक्रमहरु चालू आर्थिक बर्षको उत्तरार्धमा समेत सुरु हुने छाँट नदेखिएको भन्दै आक्रोशित स्थानीयबासीहरुले बरुवा बजारस्थित वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

यसैबिच, दुई बर्षसम्म योजना सम्पन्न हुन नसक्नुको कारणबारे स्वदेशको प्रश्नमा वडाध्यक्ष कृष्ण प्रसाद पौडेलले समयमै माडी नगरपालिकाको निर्माणजन्य श्रोतसाधन प्रयोग गर्न नपाएको र साधनहरु पाउँदा निकुञ्जमा रोयल्टी काट्न बन्द भइसकेकाले गत आ.व.मा काम हुन नसकेको बताउनुभयो । बाह्य श्रोतसाधनको प्रयोग गर्दा भुक्तानी सुनिश्चित नहुने र नगरपालिकाकै श्रोतसाधन उपलब्धताका लागि पटक पटक माग गर्दा पनि वेवास्ता भएको उहाँको आरोप छ ।

SwadeshPost