३१ श्रावण, चितवन । माडीको पौहारी गाउँमा झण्डा र व्यानर गाडी जग्गा कब्जा गरेको दावी गरेको नेकपा (क्रान्तिकारी माओवादी) चितवनले जग्गा खण्डिकरण नरोकिए ‘सशक्त प्रतिवाद गर्ने’ चेतावनी दिएको छ ।
सो पार्टीका चितवन सेक्रेटरी हेमन्तको नाउँमा जारी वक्तव्यमा, ‘माडीमा खेतीयोग्य जमीनको खण्डिकरण सम्बन्धी कार्य अविलम्ब रोक्न र यस प्रकारका सम्पूर्ण प्रक्रिया खारेज गर्न सम्बन्धित सरोकारवालासंग माग’ गरिएको हो ।
नगर परिषद् र कार्यपालिकाको निर्णय उल्लंघन हुनेगरी नगरप्रमुखको मिलोमतोमा ट्वन्टीवान ग्रुपले अनधिकृत रुपमा जमीन खण्डिकरण गरेकाले जग्गा कब्जा गरेको वक्तव्यमा जिकीर गरिएको छ । यसै सन्दर्भमा माडीमा सर्वदलिय सहमतीको नाउँमा ‘नगरपालिकाले भ्रामक प्रचार गरेको’ भन्दै ‘पार्टीको गम्भीर ध्यानाकर्षण भएको’ समेत वक्तव्यमा उल्लेख गरिएको छ ।