निकुञ्जको हवाला दिँदै बज्रगुरु र ढुकुचु कन्स्ट्रक्सन जे.भी.ले हुलाकी बाटोको निर्माण कार्य रोक्यो

निर्माण अवधी सकिन आधा बर्षको अवधी मात्रै बाँकी रहँदा ९० प्रतिशत काम बाँकी नै

390
SwadeshPost

१५ पाैष, चितवन । पूर्वी माडीको जीवनपुरदेखि बगहीँसम्म कालोपत्रे गर्ने ठेक्का पाएको बज्रगुरु एण्ड ढुकुचु कन्स्ट्रक्सन जे.भी.ले चितवन राष्ट्रिय निकुञ्जको मौखिक अनुरोधको हवाला दिँदै निर्माण कार्य रोकेको छ ।

निकुञ्जबाट मौखिक अनुरोध अएकाले हुलाकी सडकसंगै रीउ, बगहीँ, भालु, रतनी र मगोइ खोलाको पुलको समेत काम रोक्नुपरेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय बीरगंगका सुचना अधिकारी ई. दुर्गा मण्डलले बताउनुभयो ।

ई.आई.ए. सकिएको बाँदरमुढे, पतरे, परुई, टुनामुना र घाँघर खोलाको पुलको निर्माण कार्य भने जारी रहेको ई. मण्डलको भनाई छ । स्वदेशसंग कुराकानी गर्दै उहाँले हुलाकी सडकको काम हालसम्म करीब १० प्रतिशत मात्रै सकिएको बताउनुभयो । अब वातावरणीय प्रभाव मुल्यांकनको काम पुरा गरेर काम सुचारु गरिने मण्डलले बताउनुभयो ।

तर यथार्थमा भने निर्माण अवधी सकिन आधा बर्षको अवधी मात्रै बाँकी रहँदा ९० प्रतिशत काम बाँकी नै रहेकोमा ठेकदार पक्षले निकुञ्जलाई दोष दिएर उम्कने बाटो खोजेको बुझिएको छ । हाल निकुञ्जबाट कुनै खालको अवरोध नभएको र माडी नगरपालिकाले समेत पुल तथा बाटोको निर्माण कार्यमा पर्याप्त सहयोग र समन्वय गरिरहेको अवस्था हो । बिचमा अस्थायी क्रसर प्लाण्ट स्थापनाको चक्करमा समेत लागेको निर्माण पक्षले सुरुवातबाटै सडक निर्माणमा ढिलासुस्ती गर्दै आएको देखिन्छ । (सांकेतिक तस्वीर)

SwadeshPost