३२ असार, चितवन । भरतपुर महानगरपालिका पुनः देशैभरका महानगर पालिकाहरु मध्ये सर्बाधिक न्यून बेरुजु भएको महानगर बन्न सफल भएको छ ।
महालेखापरीक्षकको कार्यालयले प्रकाशित गरेको आ.व. २०७७/७८ को बार्षिक प्रतिवेदन अनुसार कूल लेखापरीक्षण रकमको तुलनामा भरतपुर महानगरपालिकाको बेरुजु प्रतिशत ०.५६ मात्रै रहेको छ । सो आ.व.मा सर्बाधिक बेरुजु धेरै भने बिराटनगर महानगरको १६.५७ प्रतिशत रहेको छ ।
अन्य महानगरपालिकाहरु मध्ये वीरगंजको ९.८० प्रतिशत, ललितपुरको ८.०६ प्रतिशत, काठमाडौंको ५.४० प्रतिशत र पोखराको ५.३५ प्रतिशत बेरुजु रहेको प्रतिवेदनमा उल्लेखित छ ।
भरतपुर महानगरको पेश्की बाहेकको बेरुजु प्रतिशत झनै न्यून ०.२५ प्रतिशत रहेको छ । यसअघि, आ.व. २०७६/७७ मा समेत अन्य महानगरको तु्लनामा सर्बाधिक न्यून बेरुजु देखिएको पालिका बनेको भरतपुरले गत आ.व.मा बेरुजु झनै घटाएको प्रतिवेदनमा प्रकाशित छ ।