भदाै ८, चितवन । संघीय सरकारका वनमन्त्री प्रदीप यादवले माडीको विकासका लागि वन मन्त्रालय बाधक नबन्ने बताउनुभएको छ ।
बुधबार माडीको रौतनी खोला पुल समुद्घाटन समारोहमा विशेष अतितिका रुपमा बोल्दै मन्त्री यादवले माडीमा वातावरणीय प्रभाव मुल्याङ्कन (ई.आई.ए.) गर्न बाँकी पुलको काम चार दिनभित्र सक्ने बताउनुभएको हो । आउँदो संघीय र प्रादेशिक निर्वाचन अगावै माडीबासी र निकुञ्जबिचको द्वन्द समाप्त भइसक्ने र आफ्नो मन्त्रालयबाट कुनै अवरोध नरहने उहाँको जिकीर थियो ।
सोही कार्यक्रममा उपस्थित अर्का विशिष्ट अतिथि भौतिक पूर्वाधार मन्त्री महम्मद इस्तियाक राईलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘म अवरोध हटाउँदै जान्छु तपाई बिकास गर्दै जानुहोस् ।’कार्यक्रमका सहभागीहरुले मन्त्री यादवको मन्तव्यप्रति ताली बजाउँदै उत्साह व्यक्त गरेका थिए ।
जनता समाजवादी पार्टी (जसपा) बाट वनमन्त्री रहनुभएका प्रदीप यादवले आफ्नो निर्वाचन क्षेत्र प्रचण्डलाई छोड्न तयार रहेको समेत बताउनुभयो । पर्साले प्रचण्डजस्तो नेता पाउन नसकेको बताउँदै मन्त्री यादवले प्रचण्डविना गणतन्त्र र यो व्यवस्था सम्भव नभएको र पार्टी फरक भए पनि आफूहरुको विचार र सिद्धान्त एउटै भएको उल्लेख गर्नुभयो ।