चितवन । माडी नगरपालिकाका जनप्रतिनिधीहरुले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवन क्षेत्र नं.३ बाटै चुनाव लड्न आग्रह गर्दै डेलिगेशन गरेका छन् ।
माडीका कार्यबाहक नगरप्रमुख खेमप्रसाद महतो सहित वडाध्यक्षहरु सम्मिलित डेलिगेशन टोलीले पूर्व प्रधानमन्त्री एवं माडी क्षेत्र समेट्ने चितवन ३ का पूर्व सांसद प्रचण्डलाई काठमाडौंमा भेट गरी चितवन क्षेत्र नं. ३ बाटै निर्वाचन लड्न अनुरोध गरेका हो ।
डेलिगेशन टोलीमा नगर कार्यपालिका प्रवक्ता डण्डपाणी पौडेल र वडाध्यक्षहरु चन्द्रा बानियाँ, गणेश कुमार विश्वकर्मा, पुरन महतो र माधव चापागाईं सहभागी रहनुभएको थियो ।
भेटका क्रममा जनप्रतिनिधीहरुले माडीको समग्र विकासमा प्रचण्डको पहलबाट हाल करोडौं रकमका योजनाहरु स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको, अरबौं बजेटको रीउ करिडोर निर्माण हुन लागेको तथा निकुञ्जभित्र सडक निर्माणका लागि बर्षौपछि स्वीकृति मिलेको अवस्थामा प्रचण्डले निर्वाचन क्षेत्र बदले सो योजनाहरु अनिश्चयमा पर्न सक्ने भएकाले निर्वाचन क्षेत्र बदली नगर्न अनुरोध गरेका थिए ।
जवाफमा प्रचण्डले आफू चितवन ३ बाट निर्वाचन लड्न सकारात्मक रहेको बताउनुभएको माडीका कार्यबाहक नगरप्रमुख महतोले जानकारी दिनुभयो । प्रचण्डले ‘भरतपुर महानगरबाट एमालेका ३ जना सहित अधिकांश वडाध्यक्ष र उद्योगी व्यवसायीहरुले पनि भेट गरी चितवनबाटै निर्वाचन लड्न आग्रह गरेको र आफू सकारात्मक रहेको बताउनुभएको’ महतोले जनाउनुभयो ।