चितवन । माडी नगर अपाङ्ग उत्थान समन्वय समितिले अपाङ्गहरुको हकहीत सम्बन्धी ९ बुँदे माग अगाडि सारेको छ ।
३१औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा माडी नगर अपाङ्ग उत्थान समन्वय समितिले एक अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरी समितिले माडी नगरपालिका र अन्य सरोकारवालाहरु समक्ष ९ बुँदे माग गरेको हो ।
अपाङ्ग समुदायका मागहरुमा माडी नगरपालिकाबाट विनियोजित रकम अपाङ्ग मैत्री बनाउनुपर्ने, विकास निर्माणमा अपाङ्गको परिवारलाई पहिलो प्राथमिकतामा राख्नुका साथै अपाङ्ग विद्यार्थी र उनीहरूका सन्तानहरुलाई निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने रहेका छन् ।
त्यसैगरी अपाङ्ग अक्षय कोष एवं ग वर्गका अपाङ्गता भएका ब्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्नुपर्ने, अपाङ्ग मैत्री शौचालय र भवन निर्माण हुनुपर्ने, माडीका सबै वडाहरूमा अपाङ्ग कार्यक्रमको सम्बोधन हुनु पर्ने लगायतका माग रहेका छन् ।
माडी नगर अपाङ्ग उत्थान समन्वय समितिका अध्यक्ष यम बहादुर अधिकारीको अध्यक्षता र माडीका नगर उपप्रमुख खेम प्रसाद महतोको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा माडीका अपाङ्गता रहेका नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।