चितवन । सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले रेडहिल पार्कबाट छरछरे अवतरण गर्ने जिपलाइन सञ्चालन गर्ने भएको छ ।
सामुदायिक वनको २६औं साधारणसभामा पारित भएको बार्षिक कार्ययोजना अनुसार सो सामुदायिक वनले पर्यटक स्थलका रुपमा परिचित रेडहिल पार्कबाट छरछरे धाम जोड्नेगरी जिपलाइन सञ्चालन गर्ने भएको हो ।
त्यसैगरी छरछरे गेट निर्माण गर्ने, वनको सीमाबाट करीब २ किलोमिटर भित्र मिनी चिडियाखाना सहितको वनभोजस्थल निर्माण गर्ने र रेडहिल पार्कबाट सोमेश्वर मन्दिर पुग्ने पैदलमार्ग बनाउने योजना समेत पारित भएको हो ।
क्षेत्रफल र उपभोक्ता संख्याको हिसाबले माडीको सर्बाधिक ठूलो सामुदायिक वनका रुपमा रहेको सो सामुदायिक वनको साधारणसभा वन समूहका अध्यक्ष नेत्रनाथ आलेको अध्यक्षता र माडीका नगर उपप्रमुख खेमप्रसाद महतोको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा, जैविक विविधता र वातावरण संरक्षणमा योगदान गरेका वनका पूर्व पदाधिकारीहरु, उप समिति सदस्य स्व. भिमलाल पाण्डेको श्रीमती कुश कुमारी पाण्डे, स्व. तुलाराम बिश्वकर्माको श्रीमती विन्दुमाया बिश्वकर्मा तथा बघौडा उपभोक्ता समितिका अध्यक्ष स्व. रामप्रसाद तिवारीका श्रीमती श्याम कुमारी तिवारीलाई सम्मान समेत गरिएको थियो ।