चितवन । माडी नगरपालिकाका आफ्नै अधुरा योजनाहरु पुरा गर्न आवश्यक ढुङ्गा बालुवा प्रशोधनका लागि नगरपालिकाको प्रशोधन प्लाण्ट पुनः सञ्चालनमा आउने भएको छ ।
माडीका नगरप्रमुख ताराकुमारी काजी महतो नेतृत्वमा माडीको सर्बदलीय प्रतिनिधी मण्डलले उद्योग बाणिज्य संघको सभाहल नारायणगढमा उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेसंग भेटी नगरपालिकाद्वारा सञ्चालित प्रशोधन प्लाण्ट खुलाउन आग्रह गरेको थियो ।
जवाफमा उपप्रधान तथा गृहमन्त्री लामिछानेले नगरपालिकाका अपुरा योजनाहरु सञ्चालनका लागि सो प्रशोधन प्लाण्ट चलाउन जिल्ला प्रशासन कार्यालय चितवनमार्फत खुला गर्नुभएको हो । यसअघि, प्रशासन कार्यालयको आदेशमा गत आइतबारदेखि माडीको मजुवास्थित गिट्टी बालुवा प्रशोधन प्लाण्ट बन्द रहेको छ ।
उप-प्रधान तथा गृहमन्त्रीको सहजिकरणसंगै शुक्रबार माडीको प्लाण्टमा काटिएको बिजुली जडान हुने नगरप्रमुख महतोले जनाउनुभयो । मन्त्री लामिछाने संगको भेटमा नगरप्रमुख महतो सहित दलीय प्रतिनिधीस्वरूप रेशमलाल आचार्य, ऋषि काफ्ले, शोभाखर चापागाईं, वीरेन्द्र भण्डारी, रामबन्धु पोखरेल, पुरन महतो लगायतको सहभागिता रहेको थियो ।