माडी, चितवन । रामनवमी चैतेदशैंका अवसरमा सोमेश्वरगढी क्षेत्रमा लाग्ने मेला व्यवस्थापनका लागि माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले भारतीय सुरक्षाकर्मीहरूसंग छलफल गर्नुभएको छ ।
नगरप्रमुख महतो सहित सोमेश्वर क्षेत्र विकास संस्थाका अध्यक्ष पिताम्बर पोखरेल र सशस्त्र प्रहरी बल छरछरेको टोली भारतीय सशस्त्र सीमा सुरक्षा बलको क्याम्प सम्मै पुगी छलफल गरेको हो ।
छलफलमा मेला सफल बनाउन आवश्यक समन्वय गर्ने बिषयमा कुराकानी भएको हो । त्यसक्रममा सोमेश्वर डाँडापारी, भारतीय सीमा क्षेत्रमा रहेको भर्तृहरि ऋषिको कुटी र मन्दिर समेत अवलोकन गरेको नगरप्रमुख महतोले बताउनुभयो ।
सोमेश्वर क्षेत्रमा लाग्ने मेलामा लामो कष्टप्रद पैदलयात्रा गरी हजारौंको संख्यामा भारतीय भक्तजनहरु सहभागी हुने गरेका छन् । मेला र पुजाको व्यवस्थापन नेपाली पक्षले गर्दै आएको छ । हाल सोमेश्वर गढी क्षेत्रसम्म पुग्न नेपालतर्फ सुधारिएको सडकमार्ग निर्माण भएको छ ।