२०८० बैशाख २१ गते, चितवन । माडी-४ वडा कार्यालयले रेडहिल पार्कदेखि सोमेश्वर कालीका मन्दिर जोड्ने पैदल मार्ग निर्माण सहितका योजना समेटी संघीय र प्रदेश सरकार समक्ष बजेट माग गरेको छ ।
वडा कार्यालयबाट नगर कार्यपालिकालाई सिफारिस भई आगामी आर्थिक बर्ष २०८०/८१ का लागि माग भएका योजनाहरुमा २ करोड रुपैंया बजेट रहेको सो पैदलमार्गका साथै २ करोड नै बजेट रहेको एकता स्तम्भमा पार्क निर्माणको योजना समेटिएको हो ।
त्यसैगरी, नालासहितको सडक कालोपत्रेका लागि ८ करोड, घोसरी लगायतका खोलामा कल्भर्ट, तटबन्धन र पुल निर्माणका लागि ६ करोड, खैरहनी मा.वि. भवन निर्माणका लागि २ करोड, खैरहनी मा.वि.देखि दुर्गा मन्दिर हुँदै मगुही खोलासम्म बाटो कालोपत्रेका लागि ४ करोड एवं वडा कार्यालयको आफ्नै भवन निर्माणको योजना माग रहेको छ ।